सरकारि गाडी फिर्ता गर्दै सर्लाहीका जनप्रतिनिधि

बैशाख ५ः सर्लाहीका जनप्रतिनिधिले सुविधाबापतको गाडी धमाधम पालिकालाई फिर्ता गर्न थालेका छन् ।

आज सोमवार बरहथवाका दिन नगरपालिकाका मेयर देवान्नद महतो सहित वडाध्यक्षहरूले पालिकाबाट सुविधाका लागि लिएका गाडी प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापालाई हस्तान्तरण गरेका छन् ।

मेयर महतोले प्रयोग गर्दै आउनुभएको बा २ झ ४४३५ नम्बरको जीप र वडाध्यक्षहरूले प्रयोग गर्दै आएका आठ वटा मोटर साइकलको साँचो नगरपालिकालाई बुझाएका हुन् । मेयर महतोले गाडी बुझाउन बाँकी रहेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई पनि चाँडै नगरपालिकामा आएर बुझाउन आग्रह गर्नुभयो ।

कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले पनि आफूले प्रयोग गर्दै आउनुभएको गाडी हिजो आइतवार नगर पालिकालाई फिर्ता गर्नुभएको थियो । त्यस्तै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले पनि नगरपालिकाले सुविधाका लागि उपलब्ध गराएको गाडी फिर्ता गर्नुभएको छ । उहाँले गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई हस्तान्तरण गर्नुभएको हो ।