एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाए :अध्यक्ष ओली

बैशाख २७:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे ।

गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको बताए । विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उनको भनाइ थियो । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको बताए । उनले प्रजातन्त्र पुनस्र्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी गरे । उनले कांग्रेसले केही गर्न नचाहेको बताए ।

हुलाकी राजमार्गअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा मात्र २७ वटा पुल बनेकाले के भनेर भोट मागेर जाने भन्नेमा संकट परेको बताए । उनले कांग्रेसलाई लोकतन्त्रको बाटोमा फर्कन आग्रह गरे । उनले कांग्रेस एमालेविरुद्ध जे भेट्यो त्यही बोक्ने अवस्थामा पुगेको दाबी गरे । ‘कहीँ राप्रपा, कहीँ प्रचण्ड त कहीँ माधव नेपाल बोकेका छन्,’ ओलीले भने, ‘कांग्रेस एमाले विरुद्ध जो भेट्यो त्यही बोक्ने अवस्थामा पुग्यो ।उनले दमकको विकासका लागि एमाले नै चाहिने बताए । एमालेकै नेतृत्वले दमक विश्वमा चिनिएको दाबी गरे ।