पेट्रोलियम पदार्थमा जोडिएको पूर्वाधार कर हटाउने तयारी

जेष्ठ १३ः सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ ।

रुस र युक्रेनबीचको लडाईको असर अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको जानकारी दिनुभएको छ ।

अघिल्लो सरकारले पूर्वाधारको विकासमा जोड दिने भन्दै इन्धनमा प्रतिलिटर १० रुपैयाँ बराबरको कर उठाउने निर्णय गरेको थियो । सुरुमा बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर प्रतिलिटर पाँच रुपैयाँका दरले कर उठाइएको थियो । बूढीगण्डकीको नाममा मात्रै सरकारले ७० अर्ब रुपैयाँभन्दा बढी सङ्कलन गरिसकेको छ ।

मन्त्रिपरिषद्ले कर समायोजनका सम्बन्धमा निर्णय गरेको भए पनि अर्थ मन्त्रालयले आवश्यक निर्णय गर्नुपर्नेछ । अर्थ मन्त्रालयले त्यस सम्बन्धमा विचार गरिरहेको समेत मन्त्री बडूको भनाइ छ । नेपाल आयल निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँमा बिक्री गरिरहेको छ ।

लगातार मूल्यवृद्धि भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री बडूले भने आन्तरिक कारणले नभइ अन्तर्राष्ट्रिय कारणले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको जानकारी दिनुभयो । सरकारको पछिल्लो निर्णयका आधारमा अर्थ मन्त्रालयले उपयुक्त निर्णय गर्ने जनाएको छ ।

निगमका अनुसार अहिले पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय ९४ रुपैयाँ ६४ पैसा रहेको छ । निगमले अहिले तय गरेको मूल्यका आधारमा पेट्रोलमा नै प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा घाटा रहेको छ । निगमले १५ दिनमा मात्रै पेट्रोल बिक्रीबाट ४९ करोड ९६ लाख रुपैयाँ बराबरको घाटा हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै डिजलको खरिद मूल्य प्रतिलिटर एक सय ८९ रुपैयाँ ८२ पैसा रहेको छ । निगमले प्रतिलिटर एक सय ६३ मा बिक्री गर्दै आएको छ । डिजलबाट मात्रै १५ दिनमा एक अर्ब ६९ करोड ४८ लाख रुपैयाँ बराबरको घाटा हुने गरेको छ ।

मट्टीतेलको खरिद मूल्य प्रतिलिटर एक सय ४० रुपैयाँ ८९ पैसा रहेको छ तर निगमले मट्टीतेल भने एक सय ६३ रुपैयाँमा नै बिक्री गर्दै आएको छ । त्यसमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा नाफा छ । निगमले १५ दिनमा एक करोड ३९ लाख रुपैयाँ बराबरको नाफा गर्ने गरेको छ ।

हवाई इन्धन आन्तरिकतर्फको खरिद मूल्य प्रतिलिटर एक सय ५२ रुपैयाँ दुई पैसा छ । निगमले प्रतिलिटर एक सय ६६ रुपैयाँमा बिक्री गर्दै आएको छ । यसबाट १५ दिनमा तीन करोड ६४ लाख रुपैयाँ बराबरको नाफा हुने गरेको छ । हवाई इन्धन बाह्यको खरिद मूल्य प्रतिलिटर एक सय ३१ रुपैयाँ १९ पैसा छ ।

निगमले हवाई इन्धनबाट प्रतिलिटर ५९ रुपैयाँ ८१ पैसा नाफा गरेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिसिलिन्डर लागत दुई हजार ६ सय ७९ रुपैयाँ ७५ पैसा रहेको छ । निगमलाई ग्यासबाट मात्रै आठ सय ७९ रुपैयाँ ७५ पैसा घाटा छ ।

निगमले इन्डिन आइल कर्पोरेशन (आईओसी) लाई पेट्रोलियम पदार्थ खरिद गरेबापत मे महिनामा ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा २० अर्ब ६० करोड रुपैयाँ मात्र पठाएको छ । बाँकी २२ अर्ब ४० करोड रुपैयाँ अहिले बक्यौता छ । निगमले सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोष तथा अन्य कोषमा रहेका सबै रकम सकिसकेको छ । निगमलाई यसबीचमा ४७ अर्ब रुपैयाँ बराबरको नोक्सान भइसकेको छ ।