सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा

असार १ : सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ।

बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ। सहकारी बजार विकास कार्यक्रम, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा सञ्चालित यो परियोजना फलफूल तथा तरकारी उत्पादनमा संलग्न कृषकसँग लक्षित छ ।

परियोजनाका निमित्त कार्यक्रम प्रबन्धक दीपक ढकालका अनुसार चितवन, धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर र नुवाकोटमा यो कार्यक्रम लागू भएको छ । छ जिल्लाका ७१ सहकारीमार्फत कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको ढकालले जानकारी दिए।

यस कार्यक्रमअन्तर्गत सहकारी संस्थालाई ५२ तरकारी बोक्ने गाडी, ४५ चिस्यान केन्द्र र ५५ सङ्कलन केन्द्रमा सहयोग पु¥याइएको छ । ती संस्थालाई क्षमता अभिवृद्धि, फलफूल तथा तरकारीको सहकारी बजार प्रणाली स्थापना र संस्थागत क्षमता विकासमा सहयोग गरिएको ढकालले बताए।

परियोजनाको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसबाट १४ हजार ४०० जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाले जानकारी दिएको छ। कार्यक्रमअन्तर्गत लजिष्टिक, कृषिजन्य प्रविधि तथा बजारीकरणका सामग्री सहकारीहरूलाई प्रदान गरिएको छ। क्षमता अभिवृद्धिका लागि सहकारी व्यवस्थापन, व्यवसाय योजना, लेखा व्यवस्थापन र मूल्य शृङ्खला विकास सम्बन्धी विषयमा तालिम दिइएको छ।

बीसवटा सहकारी संस्था तथा सहकारी बजारका लागि व्यावसायिक योजना निर्माण गरिएको छ । यसै कार्यक्रमअन्तर्गत काठमाडौँको चावहिल, ललितपुरको महालक्ष्मीस्थानमा सेटेलाइट सहकारी बजार, नुवाकोट, काभ्रे र धादिङमा सहकारी बजार निर्माण गरिएको छ। चितवनको रत्ननगर र राप्ती नगरपालिकामा सहकारी बजार निर्माण गरिएको छ। चितवनकै भरतपुरमा क्षेत्रीयस्तरको सहकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि रु पाँच करोड ७३ लाख खर्च गरिँदै छ।