एमालेको अवरोध विच १२ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, आगामी बैंठक कार्तिक २९ गते

काठमाण्डौं, कार्तिक ११

बैठकको शुभारम्भमै एमाले द्धारा अबरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट नपुग्दै सकिएको छ ।

२ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो ।

सभामुख सापकोटाको आसन अगाडि पुगेर उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाए संसदमा अवरोध खडा गरेका हुन ।

एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

यस्तै प्रतिनिधिसभाको बैठकमा बिरामी भएर उपचारका कारण प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित भएका झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचना स्वीकृत गरेको छ ।

सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।