काठमाडौं मंसिर १७ः
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकेको छ।
बिहीबारबाट जारी नेकपा माओवादीको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकेको हो।
प्रवेश शुल्कको रुपमा महाधिवेशनमा भाग लिने प्रत्येक सदस्यबाट शुल्क लिइने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकले आगामी राष्ट्रिय सम्मेलनका लागि विधान संशोधनदेखि सदस्यता विवाद मिलाउने जिम्मेबारी तोकेको छ।
‘हिजोदेखि बसेको स्थायी समिति बैठकले केन्द्रीय प्रतिनिधि थप प्रस्ताव तयार गरेर ल्याउने गरि अध्यक्षलाई जिम्मेवारी दिएको छ ’ बैठकपछि महराले भने, ‘हरेक प्रदेशले ३० जना र वाँकी पार्टी सदस्यता नविकरणका आधारमा प्रदेश अनुसार निर्धारण हुने छ।’
‘विधानमा केही परिमार्जनका लागि पाँच जनाको समिति गठन भएको छ’ उनले भने ‘समितिमा देव गुरुङ ,पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दशन शर्मा र मातृका यादव रहेका छन्।’
राष्ट्रिय सम्मेलनको व्यवस्थाका लागि हितमान शाक्य र प्रचार प्रसारका लागि कृष्णबहादुर महराको नेतृत्वमा समिति गठन गरिएको छ।
लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्ने र हरेक प्रदेशमा घाइते र अपांगहरुको कोटा निर्धारण गरि एक जना भएपनि सम्मेलनमा भाग लिने व्यवस्था मिलाउने निर्णय स्थायी समिति बैठकले गरेको छ।