चैत्र ११ : यातायात व्यवस्था विभागले सवारि चालक अनुमति पत्र (लाइसेन्स) आवेदन आगामी जेठ १ गतेदेखि मात्रै खुला गर्ने भएको छ।
अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि मात्रै नयाँ आवेदन लिइने विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन।
आवेदन दिनेको चाप अत्याधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चित कालका लागि आवेदन प्रणाली बन्द गरेको थियो। हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको बताएको छ।
घिमिरेका अनुसार परीक्षा कोटा बढाउने तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी विभागको छ। विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको समेत विभागले बताएको छ।
त्यसपछि आवेदन दिएको १५ दिनभित्र ट्रायल दिने व्यवस्था गरिने महानिर्देशक घिमिरेले बताए। यसअघि विभागका सूचना अधिकारी डा.लोकनाथ भुसालले लाइसेन्स आवेदन प्रणाली खुला भएपछि आवेदन दिएकै हप्ताभित्र परीक्षा दिन पाउने गरी व्यवस्था गरिने बताएका थिए।


















