जेष्ठ २३ः राजनिति प्रति आकर्षणता हराउदै गएको युवा पुस्ता पछिल्लो समय स्थानीय चुनावमा ¥यापर बालेन साह, धरानमा सामाजिक अभियान्ताको रुपमा परिचित हर्क साम्पाङ लगायतको जीत भएसंगै राजनिति प्रति आम युवाको चासो एकाएक बढेको छ ।

आगामी मंसिरमा हुने संसदीय चुनावमा समेत विभिन्न पेशा ब्यवसायबाट आफ्नो परिचय बनाएका युवाहरु राजनितिमा आउने ब्यापक तयारि हरेको देखिन्छ सोही क्रममा गायक सञ्जय श्रेष्ठले संसदीय चुनावमा उम्मेदवारी दिने भएका छन् ।
उनले आगामी मंसिरमा हुने संसदीय चुनावमा आफु काठमाडौँ– ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आस्थावान रहेका उनी पार्टीले टिकट दिएको खण्डमा पार्टीबाटै नसके स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।
गायक श्रेष्ठले सामाजिक संजाल फेशबुकमा स्टाट्स लेख्दै भनेका छन ‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको छु । बाँकी तपाईंहरुको साथ र विश्वास ।’ २०७० को चुनावमा पनि राप्रपाको तर्फबाट उम्मेदवार बनेका उनी सो समय पराजित भएका थिए ।
















