विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा पुगे प्रचण्ड

असार १२ : सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ ।

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन्।

आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिएका हुन् । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन्। तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिनुुभएको उनको सचिवालयले जनाएको छ।

तामाङ यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन्। लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए।