साउन १३ः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोलीले भक्तपुरको मध्यपुर थिमिस्थित रिकीसी कम्पोष्टको अवलोकन गरेको छ।

भ्रमणको क्रममा मेयर शाहसहित उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ६, १६ र ३२ नम्बर वडाका वडाध्यक्ष सहित करिब ३० जनाको सहभागिता थियो । सो टोलीलाई रिकीसी कम्पोष्ट प्रा.लि.की प्रबन्ध निर्देश कउषा गिरी लगायत कर्मचारीले यो प्रविधिको बारेमा ब्रिफिङ गरेका थिए ।
सीएनबीएम प्रविधिबाट कम्पोष्ट फोहोरलाई मल बनाउने प्रविधिलाई अवलोकन गरेपछि बालेनले काठमाडौंमा पनि यो प्रविधि उपयुक्त हुने भन्दै यसलाई कार्यान्वयनमा लैजाने बताए । यसका लागि महानगरपालिकाले उपयुक्त ठाउँको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत रिकीसी कम्पोष्ट प्रा।लि।की प्रबन्ध निर्देशक गिरीको भनाइ छ ।
महानगरपालिकाले रिकीसी कम्पोष्टका लागि चोभारस्थित हिमाल सिमेन्ट रहेको ठाउँमा जग्गा उपलब्ध गराउन गृहकार्य थालेको छ । सोमबार भ्रमणका क्रममा टोलीले सो क्षेत्रमा जग्गा उपलब्ध गराउन लागेको जानकरी दिएको प्रबन्ध निर्देशक गिरीले बताइन् ।
‘यो प्रविधिमा मल बनाउँदा अलि धेरै ठाउँ चाहिने भएकोले हिमाल सिमेन्ट कारखाना भएको ठाउँमा जग्गा उपलब्ध गराउने तयारी गरिरहेका छौं भनेर उहाँहरुले भन्नुभयो,’ गिरीले भनिन्, ‘चक्रपथको बाहिर र ड्राइपोर्टको नजिक हुँदा मलको ढुवानीका लागि समेत सहज हुने उहाँहरुको बुझाइ छ ।’
यसअघि बालेनकै टीमले पटक पटक यो प्रविधिबारे अवलोकन गरिसकेको छ । सो टोलीले यसअघि टेकुमा परीक्षण गर्ने तयारी गरे पनि भक्तपुरमा सफल परीक्षण भएको देखेपछि यसलाई सीधै कार्यान्वयनमै लैजाने तयारी गरेको छ ।
त्यसो त, सिसडोलमा अहिलै यो प्रविधिबाट मल उत्पादन गर्न बालेनले प्रस्ताव गरेका थिए । त्यसका लागि सो कम्पनी तयार भए पनि मलको प्रभावकारितामा शतप्रतिशत ग्यारेन्टी गर्न भने गाह्रो हुने जनाएको थियो ।


















