निर्वाचन आयोगले मंसिर पहिलो साता चुनाव गराउन सरकारसंग प्रस्ताव गर्ने

असार २२ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर २ मा गर्न सरकारलाई प्रस्ताव गर्ने भएको छ। आयोगले संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गराउन प्रस्ताव गर्ने भएको हो। आयोगले विकल्पका रूपमा निर्वाचनका लागि मंसिर ५ पनि प्रस्ताव गर्नेछ।

आयोगले मंसिर पहिलो साताभन्दा पछि नजाने गरी निर्वाचन गराउन सरकारलाई मिति प्रस्तावको तयारी गरेकोे हो। निर्वाचन मंसिर २ या ५ मा गराउन विकल्पसहित सरकारलाई पत्राचार गर्ने आयोगको तयारी छ। आयोगले निर्वाचन मिति तोक्न पाउँदैन। त्यसैले उसले सरकारलाई उपयुक्त मिति प्रस्ताव गर्छ।

त्यसकै आधारमा सरकारले मिति घोषणा गर्ने कानुनी प्रावधान छ। आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनाव मिति प्रस्ताव गर्ने भनिएको थियो तर प्रधानमन्त्री देउवा व्यस्त भएका कारण बुधबारका लागि भेटको समय तय गरिएको आयोग स्रोतले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेट्नेछन्। आयोगका पदाधिकारीले यसअघि पनि प्रधानमन्त्री देउवासँग भेटेर छलफल गरेका थिए। त्यसबेला कात्तिक ३० वा मंसिर पहिलो साता मिति तोक्न प्रस्ताव गरिएको थियो।