काठमाडौं, असार १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।
पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उनले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको भन्दै पार्टी एकताका लागि पहल गरिने बताए ।
उनले भने, हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ । आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ, समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ । पूर्वमाओवादीहरू पनि छलफलमा छौँ । फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ ।
यस्तै, उनले माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने भन्दै माओवादी शक्तिशाली हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए ।
हामीसँग इतिहासको, बलिदानको जनताले राखेको आशा र भरोसाको तागत भएको भन्दै यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्ने पनि उनको भनाई छ ।
उनले भने, माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ ।
उनले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको भन्दै देश निर्माणका लागि फेरि नयाँ फड्को मार्न जरूरी भएको बताए ।

















