अग्रगामी मोर्चा’ घोषणा, चुनावमा मिलेर जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ८ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मोर्चाको घोषणा गर्दै २८ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको हो।
मोर्चामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत नेताहरू सहभागी छन्।
अवधारणा पत्रअनुसार मोर्चाको नेतृत्व निश्चित अवधिका लागि आलोपालो हुने व्यवस्था गरिएको छ। निर्णय सकेसम्म सर्वसम्मतिबाट गर्ने र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गर्ने उल्लेख छ।
मोर्चाले आगामी निर्वाचनमा साझा रणनीति बनाएर सहकार्य गर्ने तथा आवश्यकताअनुसार संयुक्त रूपमा चुनावमा सहभागी हुने जनाएको छ। यस्तै, जनजीविका, आन्दोलन र राष्ट्रिय महत्वका राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा पनि संयुक्त अभियान सञ्चालन गर्ने सहमति भएको छ।
मोर्चाका घटक दलहरूले मोर्चाको निर्णयविपरीत सार्वजनिक गतिविधि नगर्ने र विवाद भए आपसी समझदारीबाट समाधान गर्ने व्यवस्था अवधारणा पत्रमा उल्लेख छ।