केपि कुमार जलन
बागलुङ । आफ्नै जन्मथलो सिगान लामिचौरको सुन्दर परिवेशमा छायांकन गरिएको नयाँ गीत ‘रानीबन’ अब केही समयमै दर्शकमाझ सार्वजनिक हुँदैछ। गीतको पोस्टर सार्वजनिक भएसँगै गीतप्रति दर्शक तथा संगीतप्रेमीको चासो बढेको छ।
आफ्नै गाउँघरका आफन्त, साथीभाइ तथा स्थानीयको माया, साथ र सहयोगमा गीतको छायांकन सफलतापूर्वक सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। गीतको छायांकन यात्रालाई स्मरणीय बनाउन गाउँघरका बहिनीहरू, अंकलहरू, ठुलाबुबा, फुपू–फुपाजु, मामा–माइजु, आमा, भाइ–बहिनी तथा सम्पूर्ण दाजुभाइ–दिदीबहिनीले दिएको साथप्रति निर्माण टिमले हार्दिक आभार व्यक्त गरेको छ।
‘रानीबन’मा आफ्नै गाउँको परिवेश, माया, सम्बन्ध र मौलिक भावनालाई प्रस्तुत गर्न खोजिएको छ। गाउँघरकै मानिसहरूसँग मिलेर काम गर्दा केही नयाँ अनुभव र चुनौती आए पनि सबैको सहयोग र आत्मीयताले छायांकन सफल भएको निर्माण पक्षको भनाइ छ।
गीतमा प्रशान्त कौशल, रमेश बिश्वकर्मा र सन्ध्या परियारको अभिनय रहेको छ भने प्रशान्त कौशल र सिम्रन परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत प्रशान्त कौशल, एरेन्ज तथा मिक्सिङ आकाश नेपाली, कथा प्रशान्त कौशल, क्यामेरा/सम्पादन प्रवेश पोखरेल, मेकअप मदन न्यौपाने, प्रोडक्सन म्यानेजर दिनेश दर्जी र निर्देशन सुरेश थापाको रहेको छ।
अब भने दर्शकको प्रतीक्षा समाप्त हुँदैछ। ‘रानीबन’ चाँडै नै सार्वजनिक हुँदैछ। आफ्नै जन्मभूमिको माया, गाउँघरको संस्कृति र मौलिक भावनाले भरिएको यस गीतलाई दर्शकले माया, साथ र आशीर्वाद दिने अपेक्षा निर्माण टिमले गरेको छ।


















