२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएको छ। कांग्रेसले श्रेष्ठलाई मध्यरातमा पक्राउ गरिएको, उनको कार्यालयमा खानतलासी गरिएको र अदालतमा उपस्थित गराउँदा हतकडी लगाइएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने बताउँदै कानुन उल्लंघन भए कानुनी प्रक्रियाबाट अनुसन्धान र कारबाही गर्न सकिने स्पष्ट पारेको छ। तर, स्थापित कानुनी प्रक्रिया र संवैधानिक विधि मिचेर पत्रकारलाई पक्राउ गर्ने, कार्यालयमा खानतलासी गर्ने तथा हतकडी लगाउने कार्य स्वीकार्य नहुने कांग्रेसको भनाइ छ।
कांग्रेसले राज्य संयन्त्रले पूर्वाग्रह वा प्रतिशोधका आधारमा व्यवहार गर्न नहुने बताउँदै यस घटनाले स्वतन्त्र प्रेस र नागरिकको सूचनाको अधिकारमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ।


















