अमेरिकाबाट म्याग्दीका सज्जन बोहोराको सांगीतिक कमब्याक, ‘न त पोईको टेन्सन, न त कोहीको टेन्सन’ भदौ १ गते सार्वजनिक

केपि कुमार जलन

नेपाली गीत–सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय म्याग्दीका सज्जन बोहोरा फेरि नयाँ सांगीतिक कोसेलीसहित दर्शक तथा श्रोतामाझ आउने तयारीमा छन्। हाल अमेरिकामा रहेका बोहोराले आफ्नो नयाँ गीत ‘न त पोईको टेन्सन, न त कोहीको टेन्सन’ को पोस्टर सार्वजनिक गरेका छन्।

गीत–सङ्गीतबाट करोडौँ भ्युज र ठूलो आर्थिक सफलता हासिल गर्न नसके पनि आफूभित्रको संगीतप्रतिको प्रेम र रहर कहिल्यै नमरेको बोहोरा बताउँछन्। त्यही निरन्तरको रहर र सिर्जनाप्रतिको मोहलाई अघि बढाउँदै उनले यसपटक रमाइलो, रोमान्टिक तथा पारिवारिक स्वादको गीत लिएर आउने तयारी गरेका हुन्।

‘न त पोईको टेन्सन, न त कोहीको टेन्सन’ भदौ १ गते अडियो तथा भिडियोसहित सार्वजनिक हुने जनाइएको छ। गीतको प्रस्तुतिले दर्शक–श्रोतामाझ मनोरञ्जनसँगै पारिवारिक वातावरणमा रमाइलो अनुभूति दिने अपेक्षा गरिएको छ।

गीतमा सज्जन बोहोरा र एलिना चौहानको स्वर रहेको छ। रमेश परियारको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका छन्। ध्वनि मिश्रण विनोद परियारको रहेको छ।
गीतको भिडियोमा सुरेश कोहली, जुना विश्वकर्मा, शृङ्गार सोनीका गजमेरलगायतको अभिनय रहेको छ। भिडियोको नृत्य निर्देशन रोशन विश्वकर्मा, छायांकन अजय रेग्मी तथा सम्पादन/रङ संयोजन प्रविन मल्लले गरेका छन्। दृश्य निर्माण गलबन्दी प्रोडक्सनको रहेको छ भने निर्देशन **सुनिल बि.क.**ले गरेका छन्।

म्याग्दीलाई स्थायी घरका रूपमा चिनाउँदै आएका सज्जन बोहोरा हाल अमेरिकामा रहे पनि नेपाली गीत–सङ्गीतसँगको आफ्नो सम्बन्धलाई निरन्तरता दिइरहेका छन्। विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको लगावलाई निरन्तरता दिँदै नयाँ सिर्जना सार्वजनिक गर्न लागेका बोहोराको यो प्रयासलाई उनका शुभेच्छुक तथा संगीतप्रेमीहरूले चासोका साथ हेरिरहेका छन्।

गीतको पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत यसको चर्चा सुरु भएको छ। बोहोराले आफ्ना दर्शक तथा श्रोतालाई गीत सार्वजनिक भएपछि हेरेर, सुनेर तथा प्रतिक्रिया दिएर माया, साथ र आशीर्वाद दिन आग्रह गरेका छन्।

अब भदौ १ गते सार्वजनिक हुने ‘न त पोईको टेन्सन, न त कोहीको टेन्सन’ ले कस्तो प्रतिक्रिया पाउँछ, त्यो भने सार्वजनिक भएपछि नै तय हुनेछ। तर लामो समयपछि आफ्नो सांगीतिक यात्रालाई पुनः निरन्तरता दिन लागेका सज्जन बोहोराका लागि यो गीत अर्को महत्वपूर्ण सांगीतिक पाइला बन्ने देखिन्छ।