कांग्रेसको १५औँ महाधिवेशन : युवा नेता महर्जनद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न शीर्ष तथा केन्द्रीय पदहरूमा नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।

महाधिवेशन नजिकिँदै गर्दा पार्टीको केन्द्रीय पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिसम्मका पदहरूमा उम्मेदवारी घोषणा भएका छन्।

आगामी आइतबारबाट हुन लागेको १५औं माहाधिवेशनमा काठमाडौं क्षेत्र नं. ५ का युवा नेता प्रकाश महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि कांग्रेसको राजनीति र लोकतान्त्रिक आन्दोलनमा सक्रिय महर्जनले पार्टीलाई थप बलियो बनाउँदै समुन्नत देश निर्माण गर्ने संकल्पसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका महर्जन १२औं महाधिवेशनदेखि हालसम्म लगातार केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् ।
महर्जन २०६० सालमा शंकरदेव क्याम्पसको स्ववियु सचिव तथा सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

महर्जनले आफ्नो राजनीतिक यात्राको आधार ‘संघर्ष, सेवा र इमान्दारिता’ भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महर्जनले अब पार्टीको केन्द्रीय नेतृत्वमा भूमिका खोज्दै उम्मेदवारी घाषणा गरेको जनाएका छन् ।