काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाउँदै जनताका जल्दाबल्दा समस्यामा परिणाम देखिने गरी काम गर्न चुनौती दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले यस्तो चुनौती दिएका हुन्।
उनले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता गम्भीर विषयमा सरकारले अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना गरे।
उनले सरकारको सुशासनको प्रतिबद्धता नारामै सीमित भएको आरोप लगाउँदै निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किँदै गएको विषयसमेत संसद्मा उठाए।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि प्रश्न उठाउँदै राईले दुई तिहाइनजिकको जनमतको शक्ति प्रयोग गरेर भ्रष्टाचारीमाथि कारबाही गर्न चुनौती दिए। भ्रष्टाचारविरुद्ध हुने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने उनको भनाइ थियो।
संसद्मा आक्रोशपूर्ण शैलीमा प्रस्तुत भएका राईले भने, ‘गिरिबन्धु टी–स्टेट होस् वा वाइड बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्योरु पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’
सरकारले जनताका समस्यालाई गम्भीरतापूर्वक लिनुको साटो टालटुले नीति अपनाएको आरोप पनि उनले लगाए।
‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ। आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्,’ उनले भने।
साथै, राईले सदन बन्द रहेको अवस्थामा संघीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि कदम नचाल्न पनि सरकारलाई चेतावनी दिए ।


















