म विचलित भएको छैन’ मन्थनमै छु :रवीन्द्र मिश्र

असार १२ : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताएका छन् ।

आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै मिश्रले आफूले अध्यक्षबाट मात्रै राजीनामा दिएको बताएका हुन् ।

‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ। पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु।’

उनले राजनीतिको आफ्नो लक्ष्य देशको दूरगामी हित रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफू मन्थनमा रहेको उल्लेख गरेका छन् । ‘राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन’, मिश्रको भनाइ छ ।