असार ५ : अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ ।

ललितपुरको एन्फा मुख्यालयमा आज बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए ।
ढिलो गरी सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरि स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिनुभयो । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो ।
यसअघि गएको सोमवारका लागि तय भएको बैठक अध्यक्ष पङ्कजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । चुनावपछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि आलोचित भएको नयाँ नेतृत्वको दोस्रो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चुनावमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । साधारण सभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो ।

















