रुपन्देही–२ मा आर्थिक एजेन्डासहित सुरज पाण्डे आक्रामक, घरदैलोमा बढ्दो समर्थन

बुटवल । जारी आसन्न चुनावी माहोलका बीच रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरज पाण्डेको सम्भावना बढ्दै गएको दाबी गरिएको छ। आर्थिक एजेन्डालाई मुख्य चुनावी नारा बनाएर घरदैलो अभियानमा निस्किएका पाण्डेले स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन । आफ्ना प्रमुख ८ वटा आर्थिक एजेन्डासहित अहिले उनी विभिन्न टोलबस्तीमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्
। दिपनगर बस्तीमा उनको विशेष प्रभाव देखिएको र चिडियाखोला तथा गोलपार्क क्षेत्रमा घरदैलो गर्दा स्थानीयवासीको उत्साहजनक समर्थन प्राप्त भएको उनका सहयोगीहरू बताउँछन।
बुटवलको पुरानो व्यापारिक परिचित परिवारबाट आएका कारण पनि उनलाई स्थानीयसँग घुलमिल हुन सहज भएको बताइन्छ। यसअघि पटक–पटक निर्वाचित प्रतिनिधिहरूले आर्थिक विकासमा अपेक्षित काम नगरी व्यक्तिगत राजनीतिक उन्नतिमै केन्द्रित भएको भन्दै मतदातामा असन्तुष्टि देखिएको स्थानीय स्रोतहरूको दाबी छ।

पाण्डेले घरदैलो, सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाटमार्फत चुनावी माहोल विस्तार गर्दै लगेका छन्। उनलाई सहयोग गरिरहेका किरण बिकका अनुसार “अरू उम्मेदवारले सहजै जित्छन् भन्ने कुरा हल्ला जस्तो मात्र देखिएको” प्रतिक्रिया मतदाताबाट आइरहेको छ। घरदैलोका क्रममा कतिपय मतदाताले कुलमान घिसिङलाई सम्मान गर्नकै लागि पनि ‘बलिरहेको चिम’ चिन्हमा मत हाल्ने बताएका छन्। “पहिले लोडसेडिङ हटायौं, अब कर घटाउने लक्ष्य छ,” भन्दै पाण्डेको टोलीले आर्थिक सुधारका प्रतिबद्धता दोहोर्याउँदै आएको छ। पाण्डे यसअघि विद्युत् आपूर्ति सुधार तथा लोडसेडिङ अन्त्य अभियानसँग सम्बन्धित प्राविधिक टोलीमा समेत आबद्ध रहेको बताइएको छ।
रुपन्देही–२ मा नेकपा एमालेका तर्फबाट उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेल र नेपाली कांग्रेसका उम्मेदवार चुन्नु पौडेल चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन क्षेत्र प्रतिस्पर्धात्मक बन्दै जाँदा नयाँ आर्थिक एजेन्डा लिएर मैदानमा उत्रिएका पाण्डेले पारम्परिक दलहरूलाई चुनौती दिने संकेत देखिएको छ।