एन्फाको सत्तामा पुग्ने आन्तरिक विवादका कारण नेपाली महिला फुटबल टोली धरापमा

काठमाडौ -नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले राजनीतिका कारण १० वर्षको मिहिनेत खरानी भएको प्रतिक्रिया दिएका छन्।

एन्फाको सत्तामा पुग्ने आन्तरिक विवादका कारण नेपाली महिला फुटबल टोलीले महत्त्वपूर्ण प्रतियोगिता फिफा सिरिज गुमाउनुपरेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा राम्रो आशा जगाइरहेको नेपाली महिला टोलीले मैत्रीपूर्ण खेल गुमाएपछि पूर्वकप्तान अन्जिलाले दुखेसो पोखेकी छन्। खेलाडीहरूको वर्षौंको मिहिनेत, संघर्ष र त्यागबाट बनाएको उपलब्धि राजनीतिक स्वार्थले नष्ट पारेको अन्जिलाले आरोप लगाएकी छन्। अन्तर्राष्ट्रिय खेल खेल्न नपाउनु खेलाडीका लागि ठूलो पीडा भएको उनले पोस्ट गरेकी छन्।

गोलकिपर अञ्जिलाले सामाजिक सञ्जालमार्फत राजनीतिले गर्दा आफूहरूले गरेको मिहिनेत खेर गएको उल्लेख गर्दै नेपाली फुटबलको सरोकारवालाप्रति आक्रोश व्यक्त गरेकी हुन्। अर्ली इलेक्सनको प्रयासपछि अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तीन महिनाको निलम्बनमा छ। निलम्बनका कारण अहिले नेपाली फुटबलको घरेलु लिगसँगै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि प्रभावित हुन पुग्यो। पुरुष राष्ट्रिय लिग र सहिद स्मारक महिला लिग स्थगित हुनुका साथै नेपाली महिला टोलीले खेल्ने फिफा सिरिजबाट पनि वञ्चित हुनुपर्‍यो। यससँगै नेपाली महिला टोलीकी पूर्वकप्तान तथा गोलकिपर अन्जिलाले उक्त दुखेसो व्यक्त गरेकी हुन्।