विष्णु माझीको झल्को दिने आवाजकी अन्जिता विश्वकर्माको स्वरमा धमाधम तीज गीत रेकर्डिङ

केपि कुमार जलन

हरितालिका तीज नजिकिँदै जाँदा नेपाली लोकसंगीत बजारमा तीज गीतको चहलपहल तीव्र बनेको छ। यसैबीच विष्णु माझीको झल्को दिने मिठासपूर्ण आवाजकी चर्चित गायिका अन्जिता विश्वकर्माको स्वरमा धमाधम तीज गीतहरू रेकर्डिङ भइरहेका छन्।

अन्जिताको स्वरलाई लिएर संगीत क्षेत्रका सर्जक तथा श्रोताहरूले खुलेर प्रशंसा गर्न थालेका छन्। धेरैले उनको आवाजलाई “भावपूर्ण, शुद्ध लोकधुनसँग मेल खाने र सुन्दा मन छुने” भन्दै विष्णु माझीको शैलीसँग तुलना समेत गरेका छन्। विशेषगरी उनको स्वरमा रहेको मिठास, स्पष्टता र भाव अभिव्यक्त गर्ने क्षमताले उनलाई पछिल्लो समय लोकसंगीतमा उदाउँदो शक्तिशाली गायिकाको रूपमा स्थापित गरिरहेको छ।

लोकगीतमा आफ्नो छुट्टै पहिचान बनाउँदै अघि बढिरहेकी अन्जिताको स्वरमा रहेका तीज गीतहरूले यस वर्षको तीजमा दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। उनका गीतहरूमा परम्परागत तीजको मौलिकता, नारी वेदना, खुशी र उत्सवको भाव झल्किने भएकाले पनि श्रोताहरूको आकर्षण बढ्दो छ।

पछिल्लो समय तीजलाई लक्षित गर्दै विभिन्न सर्जक तथा कलाकारहरू नयाँ–नयाँ सिर्जना बजारमा ल्याउने तयारीमा छन्। यही क्रममा अन्जिताको स्वरमा पनि एकपछि अर्को तीज गीत रेकर्डिङ भइरहनुले उनका शुभचिन्तक तथा लोकसंगीतप्रेमीहरूमा उत्सुकता थपिएको छ। संगीतकारहरूले समेत उनको स्वरलाई “गीतलाई जीवन दिने क्षमता भएको आवाज” भन्दै प्रशंसा गरेका छन्।

मौलिकता, मिठास र भावपूर्ण प्रस्तुति कारण चर्चामा रहेकी अन्जिता विश्वकर्माका तीज गीतले यसपटक कस्तो धमाका मच्चाउलान् भन्ने चासो बढेको छ। उनका गीतहरू सार्वजनिक भएपछि मात्र यसको वास्तविक प्रभाव र लोकप्रियता स्पष्ट हुने अपेक्षा गरिएको छ।