केपि कुमार जलन
‘गीतै गाउने भनेर काठमाडौं आएको नि २२ वर्ष भएछ बाइ…’ गायिका देवी घर्तीको यो भनाइले उनको लामो सांगीतिक यात्राको कथा मात्रै सुनाउँदैन, निरन्तर संघर्ष, मेहनत र संगीतप्रतिको गहिरो लगावलाई समेत झल्काउँछ। दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीतमा सक्रिय घर्ती आज पनि उत्तिकै व्यस्त र चर्चित गायिकाका रूपमा आफ्नो यात्रा अघि बढाइरहेकी छन्।
बागलुङको गल्कोट नगरपालिका–पाण्डवखानीमा जन्मिएकी देवी घर्तीले सानैदेखि गीतसंगीतप्रति रुचि राख्दै आफ्नो सांगीतिक सपना बोकेर काठमाडौं प्रवेश गरेकी थिइन्। काठमाडौं आएर संगीत क्षेत्रमा स्थापित हुने उनको लक्ष्य सहज भने थिएन। तर निरन्तरको प्रयास, साधना र आफ्नो स्वरप्रतिको विश्वासले उनलाई नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बनायो।
सांगीतिक यात्राका क्रममा उनको स्वरमा करिब ६ हजार भन्दा बढी गित रेकर्ड भई सकेका छन भनेर सचाउनु न बढी गीत रेकर्ड भइसकेका छन्। लोकदोहोरी तथा विभिन्न सांगीतिक सिर्जनामा आफ्नो स्वरमार्फत योगदान दिँदै आएकी देवीका गीतहरू श्रोता–दर्शकमाझ लोकप्रिय छन्। उनको स्वरमा रहेको मौलिकता, मिठास र भावअनुसार गाउन सक्ने क्षमताले उनलाई लोकसंगीतमा व्यस्त गायिकाका रूपमा स्थापित गरेको छ।
देवी घर्तीको सांगीतिक यात्रा स्टुडियोभित्र गीत रेकर्ड गर्नेमा मात्र सीमित छैन। उनी नेपालका विभिन्न स्थानमा आयोजना हुने सांगीतिक कार्यक्रमदेखि विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रमसम्म निरन्तर सहभागी हुँदै आएकी छन्। सांगीतिक कार्यक्रमका लागि थुप्रै देश–विदेश पुगिसकेकी घर्तीले आफ्नो कला र स्वरमार्फत नेपाली लोकसंगीतलाई नेपाली समुदायमाझ पुर्याउँदै आएकी छन्।
२२ वर्षको सांगीतिक यात्रालाई फर्केर हेर्दा उनले थुप्रै उतारचढाव, संघर्ष र अवसर पार गरिसकेकी छन्। संगीतमा प्रवेश गर्दा बोकेको सपना आज पनि उस्तै जीवित रहेको उनको भनाइले उनको संगीतप्रतिको समर्पण स्पष्ट पार्छ।
‘मान्छेको उमेर ढल्किए पनि सांगीतिक यात्राको कलकलाउँदो उमेर सुरु हुन सक्छ’ भन्ने भाव बोकेको देवी घर्तीको यात्राले उमेरभन्दा ठूलो कुरा इच्छाशक्ति, निरन्तरता र सिर्जनाप्रतिको समर्पण हो भन्ने सन्देश दिन्छ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकसंगीतमा सक्रिय बागलुङकी छोरी देवी घर्ती आज पनि नयाँ–नयाँ सिर्जना, रेकर्डिङ तथा सांगीतिक कार्यक्रममा व्यस्त छिन्। लामो समयदेखि संगीतमा दिएको निरन्तरतालाई हेर्दा उनको सांगीतिक यात्रा अझै बाँकी रहेको र आगामी दिनमा पनि नेपाली लोकसंगीतमा थप योगदान दिने अपेक्षा गर्न सकिन्छ।


















