कास्की । पोखरा महानगरपालिका–२४ कार्कीको तगरामा सामान्य विवादका क्रममा बियरको बोतल प्रहार हुँदा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ७२ वर्षीय पूर्णभद्र त्रिपाठी रहेका छन्। सोमबार साँझ करिब ७ बजे स्थानीय २२ वर्षीय जगत दाहालले त्रिपाठीमाथि बियरको बोतल प्रहार गरेको प्रहरीले जनाएको छ।
बोतल प्रहारबाट टाउकोमा गम्भीर चोट लागेपछि त्रिपाठी बोल्न नसक्ने अवस्थामा पुगेका थिए। उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनापछि फरार भएका दाहाललाई प्रहरीले पामे पुलनजिकैबाट नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको कारण र घटनाक्रमबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


















