पदको आशले पार्टी प्रवेश गरेको होइन तर, जिम्मेवारी दिए पछि हट्दिन : करिश्मा

चैत्र ८ः एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी गरेर नभई एमालेको कार्यकर्ता बन्न पार्टी प्रवेश गरेको बताएकी छन् ।

मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि आफ्नो मन्तव्य राख्दै अभिनेत्री मानन्धरले भनिन–‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु । तर कुनै जिम्मेवारी दिँदा पछि हट्दिन।’

आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् । उनले भनिन्–‘पहिलो अध्यक्ष ओली हो। नेता भनेको जनताको अगुवा हो। त्यो केपी ओलीजीमा पाउँछु ।’ ओलीको कुरा सुनेर आफू नथाक्ने उनको भनाइ छ। नेपालको अधिकांश भुभागमा ओलीको गुनगान गाइने करिश्माको दाबी छ।

तीन दशक कलाकारिता क्षेत्रमा गरेको संघर्ष मुलुककै लागि भएको बताएकी उनले आफ्नो त्याग र दुःखहरु जनताकै लागि भएको बताएकी हुन्।

मानन्धरले कला क्षेत्रबाट अगाडि बढ्नका लागि राजनीतिमा प्रवेश गरेको बताइन। कला क्षेत्रको पक्षबाट मुलुकको लागि योगदान गरिरहेको दावी गर्दै उनले पछिल्लो समय आफू कला क्षेत्रमा मात्रै केन्द्रित भएकाले अब राजनीतिमा होमिएको बताइन् ।

उनले भनिन्–‘हामी सबैले मुलुकका लागि केही योगदान गरेका हुन्छौं। आजबाट एमालेमा प्रवेश गरेर अघि बढ्ने निर्णय गरेकी छु ।’ एमालेले महिलाहरुलाई अगाडि बढाएकोमा पनि आफू एमाले प्रवेश गरेको उनले बताइन्। नेपाली जनताले एमालेप्रति आस्था राख्ने भएकोले पनि आफूले एमाले नै रोज्नुको कारण भएको उनले बताइन्।

उनले भनिन्–यो भन्दा पहिला मैले अर्को पार्टीमा पनि काम गरे। त्यहाँ पनि एमाले प्रति आस्था थियो। एमाले अहिले पनि पहिलो पार्टी हो। एमालेभित्र नयाँ मान्छे किन आएको भन्ने अग्रजलाई लाग्ला। केही सौदावाजी हो कि भन्ने देशभरकालाई लाग्ला।’