भारतको समुद्री आँधीको प्रभाव नेपालमा, पूर्वी भागमा हुरी र असिना पर्ने सम्भावना

चैत्र ८ : नेपालको पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।

मौसमविद् डा.धर्मराज उप्रेतीका अनुसार भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव नेपालको पूर्वी भागमा देखिन सक्ने सम्भावना बढेको बताउनुभयो ।

उहाँका अनुसार ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा पानी पारिरहेको छ । हावाको बेग दुई, तीन दिन अझै बढ्ने देखिएको छ ।

नेपालमा प्रि–मनसुन सुरु भएपछि असर पार्न सक्ने यो पहिलो समुद्री आँधी हो । आँधीको असर कति दिनसम्म जान्छ भन्नेबारेमा भोलि बुधवारसम्म निर्धारण हुने तर अहिलेसम्मको गति अध्ययन गर्दा दुई, तीन दिनसम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको उप्रेतीले बताउनुभयो ।

सामान्य हावाहुरी र असिना पानी परे पनि अरू ठूलो असर नदेखिएको उहाँको भनाइ छ । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर हुन सक्ने पनि मौसमविद् उप्रेतीले बताउनुभयो ।

अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम बद्ली भएको छ । स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली भएको र सामान्य हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।