असार ३ : सरकारले पैसा नदिएपछि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ।

यही असार १७ गतेदेखि अर्को सूचनानआएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्रा.डा दिनेश काफ्लेले जानकारी दिएका छन।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचार गरेबापतको दिनुपर्ने रकम हालसम्म नदिएकाले सेवा स्थगित गरेको अस्पतालले जनाएको छ।
सरकारले अस्पताललाई हालसम्म ८ करोडभन्दा बढी रूपैयाँ दिन बाँकी रहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले थाहाखबरलाई जानकारी दिए।
बिमा बोर्डसँगको छलफलबाट पनि रकम नआउने अवस्था देखिएपछि अन्य नियमित बिरामीको उपचारमा प्रभाव परेकाले सेवा स्थगित गर्न लागिएको अधिकारीले बताए। ‘बिमा रकम नपाउने भएपछि औषधि उपचारको व्यवस्थापनमा पनि समस्या आउने देखियो।
गत साता बोर्डसँग कुरा राख्दा रकम दिनसक्ने अवस्था देखिएन’, उनले भने, ‘यस्तो अवस्थामा अन्य बिरामीलाई समेत उपचारको अभाव हुनसक्ने भएकाले अहिलेलाई स्थगित गर्न लागेका हौं।’


















