काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सूर्यबहादुर तामाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई चुनावी प्रतिबद्धता सम्झाउँदै गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न दबाब दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले चुनावअघि गोजीमा पैसा नभएका गरिब तथा विपन्न नागरिकलाई निःशुल्क उपचार गराउने भनिएको प्रतिबद्धता कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनले प्रधानमन्त्रीले चुनावका बेला गरेको उक्त प्रतिबद्धता अहिले बिर्सिएको हो कि बिर्साइएको हो भन्दै प्रश्नसमेत गरे।
‘प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो, गोजीमा पैसा नहुने गरिब, विपन्न जनताले उपचार पाउनुपर्छ। यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको हो ? यही सदनमार्फत ध्यानाकर्षण गराउँछु,’ उनले भने।
जनताले सरकारलाई दुई तिहाइनजिकको बहुमत दिएको उल्लेख गर्दै तामाङले सरकारले धेरै काम गर्न नसके पनि कम्तीमा स्वास्थ्य सेवा निःशुल्क बनाउने काम गर्नुपर्ने बताए।
उनले नयाँ कानुन वा विधेयक ल्याएर भए पनि तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने माग गरे।
‘यति मात्रै गर्न सके पनि साँच्चिकै हाम्रो जयजय नै हुनेछ। नयाँ कानुन अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा तीन महिनाभित्र स्वास्थ्य निःशुल्क हुनुपर्यो,’ उनले भने।
स्वास्थ्य सेवा निःशुल्क नभए आफूले कडा कदम चाल्ने चेतावनीसमेत तामाङले दिए।
‘यदि हुन सकेन भने तीन महिनाभित्र आमरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु,’ उनले प्रतिनिधि सभामै घोषणा गरे।


















