केपि कुमार जलन/
काठमाडौं । लोक तथा दोहोरी गायिका टिका सानुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय महिला सदस्य पदका लागि उम्मेदवारी दिएकी छन्।
नेपाली गीत–संगीतको क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय रहँदै आएकी सानुले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि लोक तथा दोहोरी गीत–संगीतको विकास र कलाकारहरूको हकहितका लागि योगदान गर्ने उद्देश्यले अघि सारेको बताएकी छन्।
उम्मेदवारीसँगै प्रतिष्ठानका संस्थापक अध्यक्ष, वर्तमान तथा पूर्व अध्यक्ष, संरक्षक, सल्लाहकार, सम्मानार्थ सदस्य, वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला समितिका पदाधिकारी, आजीवन सदस्य र महाधिवेशनका सम्पूर्ण प्रतिनिधिसमक्ष उनले आफ्नो पक्षमा मतदानका लागि अपिल गरेकी छन्।
सानुले आफूले सांगीतिक यात्राका क्रममा प्राप्त गरेको माया, साथ, हौसला र विश्वासलाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा लिएकी छन्। ‘एक मत मेरो लागि ठूलो हौसला हुनेछ’ भन्दै उनले आफ्नो काम, योगदान र आगामी योजनाको मूल्याङ्कन गरी अमूल्य मत प्रदान गर्न आग्रह गरेकी छन्।
लोक तथा दोहोरी क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सशक्त बनाउन कलाकारको हकहितसँगै प्रतिष्ठानको संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ।
सानुले आजसम्म आफूलाई प्राप्त माया, विश्वास र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ, सुझाव र विश्वास निरन्तर प्राप्त हुने अपेक्षा गरेकी छन्।


















