वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत फागुनको तुलनामा चैत महिनामा श्रम स्वीकृति लिने झन्डै ९ हजारले बढेको छ ।
यसरी चैत महिनामा मात्रै वैदेशिक रोजगारीको खोजीमा करिब ६२ हजार नेपाली बिदेसिएका हुन् । वर्तमान सरकारको मुख्य प्राथमिकता स्वदेशमा नै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा कमी ल्याउने हो । तर, सरकार बनेको पहिलो महिनामा नै आधा लाख बढी नेपाली रोजगारीको खोजीमा बिदेसिएका छन् । धेरै नेपाली मलेसिया, युरोप र खाडी राष्ट्र नै जाने गरेका छन् । तथ्याङ्कअनुसार चैतमा सबैभन्दा बढी १८ हजार ६ सय ४९ जना नेपाली मलेसिया गएका छन्।
दोस्रोमा संयुक्त अरब इमिरेट्स (युएई) मा ११ हजार ४ सय ६३, कतारमा ८ हजार ९ सय ५९ र साउदी अरबमा ८ हजार ९ सय २० जना गएका छन्। पछिल्लो समय युरोपेली राष्ट्रहरूमा पनि नेपालीको आकर्षण बढेको देखिएको छ। रोमानियाका लागि ४ हजार ४ सय ३८ जनाले श्रम स्वीकृति लिँदा जापानका लागि १ हजार ६ सय २६ र साइप्रसका लागि १ हजार ३९ जनाले श्रम स्वीकृति लिएका छन्।
फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएकामा चैत मसान्तसम्म ८ हजार ८७५ जनाले वृद्धि भएर ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार चैतमा ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिलाले श्रम स्वीकृति पाएका छन् । यस सङ्ख्यामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि जोडिएको छ। नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या भने २० हजार ५४५ छ । जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला रहेका छन्।


















