एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुहरूको प्रशंसा गरेका छन् ।
फ्लाई दुबईको दुबई–तेल अभिव उडान नम्बर एफजेड–१०७३ मा बुधबार भएको असाधारण घटनापछि भारतीय पाइलट क्याप्टेन स्मित मच्छार था यात्रुहरूको प्रशंसा गरेका हुन् ।
बुधबार दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबई विमानका सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटभित्र करिब १७ हजार फिट तल झरेको र मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।
फ्लाईदुबईको FZ–1073 उडानमा बोइङ ७३७ म्याक्स–८ विमानमा चालक दलका सदस्यसहित १७४ जना सवार थिए। दुबईबाट तेलअविवतर्फ उडिरहेको विमानमा ककपिटभित्रै झडप भएपछि विमानको उचाइ तीव्र रूपमा घटेको थियो।
प्रारम्भिक विवरणअनुसार भारतीय क्याप्टेन स्मित मच्छारमाथि सहपाइलटले धारिलो हतियारले आक्रमण गरेका थिए। आक्रमणबाट क्याप्टेन घाइते भएपछि विमानमा आपत्कालीन अवस्था उत्पन्न भएको थियो। घटनाको सम्पूर्ण क्रम र आक्रमणको उद्देश्यबारे भने सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
घाइते क्याप्टेनले खोले ककपिटको ढोका
घटनाको सबैभन्दा महत्वपूर्ण मोड क्याप्टेन मच्छारले घाइते अवस्थामा समेत ककपिटको ढोका खोल्न सफल हुनु बनेको छ।
ककपिटको ढोका खुलेपछि विमानमा रहेका यात्रु तथा चालक दलका सदस्यहरू भित्र प्रवेश गरेका थिए। उनीहरूले आक्रमणकारी सहपाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। त्यसपछि विमानमा रहेका अन्य पाइलटहरूले उडानको नियन्त्रण सम्हालेका थिए।
विमानलाई गन्तव्य तेलअविवतर्फ अघि बढाउनुको सट्टा साउदी अरबको तबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। विमान त्यहाँ सुरक्षित रूपमा अवतरण गरेपछि सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको फ्लाईदुबईले जनाएको छ।
को हुन् क्याप्टेन स्मित मच्छार ?
भारतीय सञ्चारमाध्यमका अनुसार स्मित मच्छार भारतको महाराष्ट्रका अनुभवी व्यावसायिक पाइलट हुन्। उनले आफ्नो उडान करिअर स्पाइसजेटबाट सुरु गरेका थिए। सन् २०११ मा स्पाइसजेटमा प्रवेश गरेका उनी त्यहाँ करिब ११ वर्ष कार्यरत रहे र सिनियर क्याप्टेनसम्म पुगेका थिए।
सन् २०२२ मा उनी फ्लाईदुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा आबद्ध भएका थिए। सार्वजनिक व्यावसायिक प्रोफाइलमा उनले बोइङ ७३७–८०० तथा बोइङ ७३७ म्याक्स विमानमा हजारौँ घण्टाको उडान अनुभव हासिल गरेको उल्लेख छ।
घाइते क्याप्टेन अस्पतालमा
आपत्कालीन अवतरणपछि मच्छारलाई तबुकस्थित अस्पताल लगिएको थियो। रिपोर्टअनुसार उनको उपचार तथा शल्यक्रिया गरिएको छ र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।
घटनामा संलग्न सहपाइलटलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। सहपाइलटको उद्देश्य तथा ककपिटभित्र भएको घटनाको सम्पूर्ण विवरण अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ।
मोदी र ट्रम्पले पनि गरे प्रशंसा
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मच्छारको प्रशंसा गरेका छन् ।
ट्रम्पले घटनाका क्रममा आक्रमणमा परेका भारतीय पाइलटको प्रशंसा गर्दै मच्छारलाई ‘हिरो’ भनेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले पनि मच्छारलाई ‘हिरो’ भन्दै संकटका बेला उनले देखाएको साहसको प्रशंसा गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गम्भीर रूपमा घाइते भए पनि ककपिटको ढोका खोल्न सफल भएको र त्यसपछि यात्रु तथा चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको घटनालाई उद्धृत गर्दै उनको प्रशंसा गरिएको हो।
यद्यपि विमानलाई सुरक्षित अवतरण गराउन क्याप्टेन मच्छारसँगै यात्रु, चालक दल तथा विमानमा रहेका अन्य पाइलटहरूको समेत भूमिका रहेको विवरणहरूमा उल्लेख छ।
घटनाको वास्तविक कारण, आक्रमणको उद्देश्य र ककपिटभित्र भएको सम्पूर्ण गतिविधिबारे सम्बन्धित निकायको अनुसन्धान जारी रहेकाले अन्तिम निष्कर्ष आउन बाँकी छ।


















