केपि कुमार जलन
गायिका धना परियारले आफ्नी बिरामी आमाको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। विगत एक महिनादेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी उनकी आमा हाल नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचाररत छिन्।
धनाका अनुसार उनकी आमालाई मुटुसम्बन्धी गम्भीर रोग रहेको छ। सुरुवाती उपचार सुर्खेतस्थित प्रदेश अस्पतालमा गरिएको भए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि वीर अस्पताल काठमाडौं हुँदै हाल आपत्कालीन अवस्थामा नेपाल प्रहरी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भएको बताउँदै धना परियारले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी छन्। “फेरि पनि हात फैलाउनुपर्ला भन्ने सोचेकी थिइनँ, तर परिस्थितिले बाध्य बनायो। आमाको जीवन बचाउन सबैको साथ र सहयोग आवश्यक परेको छ,” उनले भावुक अपिल गर्दै भनेकी छन्।
उनले आमाको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन्। सहयोगको सानो प्रयासले पनि एक आमाको जीवन बचाउन ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
धना परियारको यो अपिल अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ। मानवताको नाताले सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई उनको परिवारले सहयोगका लागि हातेमालो गरिदिन अनुरोध गरिएकाे छ।
“कृपया मेरी आमाको ज्यान बचाइदिनुहोस्” भन्ने भावुक आग्रहसँगै उनले सबैमा सहयोगको अपेक्षा गरेकी छिन ।


















